फेसबुक हिरो जुकरबर्गको पहिरन चर्चा

सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्‍यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो ।
हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ ।
हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटलाई नै औपचारिक पोशाक मानिन्छ । तर पहिरनमा सहजता हुनु पर्छ भन्ने उनको मान्यता छ । हुडी नै उनलाई सहज लाग्छ । उनी यो वाहेक टिसर्ट समेत लगाउने गर्छन् । फेसनको मामलामा एप्पलका संस्थापक स्टिभ जब्सको पनि यस्तै धारणा थियो । स्टिभ जब्सले पनि सार्वजनिक समारोहमा जहिले पनि घाटी सम्म ढाकिएको कालो रंगको फुल टिसर्ट ‘टर्टलनेक’ र ब्लु जिन्स पाइन्ट लगाउथे ।
6a01156e30b64e970c0147e1aed3cb970b-800wi
स्टिभ जब्सले आफ्नो बायोग्राफी लेखक वाल्टर इज्याक्सनसँग भनेका थिए, ‘मसँग यस्ता धेरै टर्टलनेक छन् । मैले प्रत्येक दिन फेरेर लगाउदा पनि जिन्दगी भर पुग्ने संख्यामा छन् ।’ यसको अर्थ स्टिभ जब्सको ‘टर्टलनेक’ प्रति अति नै मोह रहेको दर्शाउछ । त्यसैले उनले सधै नै त्यही पहिरनमा आफुलाई प्रस्तुत गरे । स्टिभ जब्स नै मार्क जकरबर्गका ‘एक्जिक्युटिभ आइडल’ मानिन्छन् । त्यसैले जब्सले जस्तै जकरबर्गले पनि फेसनमा आफ्नो छुट्टै पहिचान बनाउन खोजेका हुन सक्छन् भन्ने कतिपयको मान्यता छ ।
जकरबर्गले पहिरिने हुडीको प्रचलन अमेरिकाबाटै प्रारम्भ भएको हो । सन् ७० को दशकको मध्यतिर न्युयोर्कका सडकहरुमा हिप–हप संस्कृतिको निकै नै विकास भैरहेको थियो । चलिरहेको फेसन भन्दा अलिकति फरक देखिन चाहनेहरुले यो अवस्थामा हुडीको प्रयोग गर्न निकै नै रुचाए । त्यो समयमा विशेषत: भित्ते चित्र कोर्ने ग्राफिटी कलाकारदेखि लिएर लुटेरा र अलि हठी बालबालिकाले समेत यसको प्रयोग गर्न थाले ।
त्यतिखेर हुडी लगाउनु भनेको अलिकति तल्लो स्तरको व्यक्तिको पहिचान हुन्थ्यो र यसको अर्थ उनिहरु अलि कानुन विपरितका कार्य गर्न अग्रसर हुन्छन् भन्ने मान्यता रहन्थ्यो । त्यसपछि स्केटर र स्नोबोर्डरदेखि लिएर पंक म्युजिकका पारखीहरुले समेत यसको प्रयोग गर्न थाले । त्यो समयमा नर्मा कमाली र अन्य प्रसिद्ध डिजाइनरहरुले यसको प्रसिद्धिलाई बढाउन निकै नै भूमिका खेलेका थिए । खासगरी त्यो समयमा प्रसिद्ध भएको फिल्म ‘रकी’ मा यसको प्रयोग भए पछि यसले झनै लोकप्रियता पायो ।
सन् ९० को दशक प्रारम्भसँगै हिप–हप संस्कृतिले प्रसिद्धि कमाउदै गयो । त्यसपछि टमी हिलफिगर, जर्जियो अर्मानी र राल्फ लाउरेनदेखि गुची र भर्सासे जस्ता प्रसिद्ध फेसन डिजाइनरको ध्यान समेत हुडीतिर मोडियो । उनिहरुले हुडेड टीसर्ट डिजाइन गर्न थाले । त्यसपछि यसको प्रयोग पनि बढ्दै गयो । यसको प्रयोग गर्न रुचाउनेहरु प्रतिको गलत धारणा पनि समाप्त हुदै गयो ।
अमेरिकाको पश्चिमी भाग, अझ क्यालिफोर्नियामा यसको निकै नै प्रचलन हुन थाल्यो । शैक्षिक संस्थाहरुले समेत युनिभर्सिटीको लोगो सहितका हुडी प्रयोग गर्न थाले । यस्ता हुडी विशेष गरी अतिरिक्त कृयाकलापको समयमा अनौपचारिक पोशाकका रुपमा प्रयोग गरिन्छ । अहिले यो अमेरिकामा जिन्स जस्तै फेसनको रुपमा विकास भएको छ । अमेरिकी युवाहरुमा हुडीप्रति निकै मोह छ । यसैको प्रतिनिधिका रुपमा मार्क जकरबर्गले समेत भूमिका खेलेका छन् ।

Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद